नयाँ पुस्ताको आवाज र आयतनलाई सम्बोधन गर्न गगन विश्वप्रकाश चुक्नु हुन्न, जुन समयको जर्बजस्त माग हो । सिफारिस भएर आएका नाममा कांग्रेसहरु पनि छन्, देउवा कांग्रेस पनि छन्, शेखर कांग्रेस पनि छन् र गगन कांग्रेस पनि छन् । यि थरिथरिका कांग्रेस मध्ये निर्वाचन क्षेत्र पिच्छे कुनै एउटाले टिकट पाउँने हो,जो प्रकारान्तले कांग्रेसनै हो । 

समाचार विश्लेषण
काठमाडौं,५ माघ ।
नेपाली कांग्रेस अहिले यथास्थितिवाद र परिवर्तनको द्धन्दमा फसेको छ । संघारमा छ प्रतिनिधिसभा निर्वाचन । भदौं २३ को जेनजि अभियान र २४ को विध्वंशको जगमा बदलिएको छ, राजनीतिक परिवेश, समाजिक चेत । नयाँ र पुरानाबीच विभेदकारी राजनीतिक अस्त्रहरु परिचालित छन् । भूराजनीतिका स्वार्थहरु खेलिरहेको एउटा विचित्र राजनीतिक माहौल देखिदंैछ ।र, नेपाली समाज यिनै चुनौतीहरुबीच निकासको अग्नी परीक्षामा सामेल हुदैंछ— चुनाावमा भाग लिदै छ । घायल संविधान,औचित्य माथि प्रश्न उठिरहेको संसदीय लोकतन्त्र, संघीयता र समावेशिताबारेका प्रश्नहरु सडकमा छताछुल्ल भएका छन् ।
सडक आन्दोलन र हिंसाको बलमा स्थापना गर्न नसकिएको राजतन्त्रलाई चुनावी प्रक्रियाबाट अनुमोदन गराउने अभ्यासहरु भैरहेका त छैनन् ? वर्तमान सुशिला कार्की नेतृत्वको सरकार यही अभिष्ठकासाथ अगाडी बढिरहेको त होइन ? गहिरा प्रश्नहरु सतहमा आएका छन् । बालेन्द्र शाह(बालेन)लाई प्रधानमन्त्री बनाउने योजना, रबि लामिछानेको सहकारी ठगि मुद्धालाई कमजोर बनाउने योजनावद्ध खेल, दुर्गा प्रसाईहरुसँगको संझौताले दिएका सन्देशहरु र राप्रपाले घोषणा गरेका उम्मेदवारलाई समग्रमा एउटै हुन भनेर बुझन जरुरी छ यसबेला ।

आफ्नै जिम्मेवार आधा भन्दा बढी कार्यकर्ताको परिवर्तनको चाहनालाई नजरअन्दाज गर्दाको परिणाम हो, अहिलेको अवस्था, परिणाम भोग्नुको विकल्प हुँदैन ।

यस्तो भयावह राजनीतिक माहौंलमा लोकतन्त्रको मसिहा कांग्रेस सडकमा तमासा गरिरहेको छ । मुलकभर परिवर्तनको आवाज मुखरित भैरहँदा, आफ्नै पार्टीका कार्यकर्ताले देखाएको बाटोमा हिडन केही कांग्रेसलाई सकस भएको छ । यथास्थितिवादका पर्याय बनेका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मुलुक समाज र आफ्नै पार्टीमा आएको आमुल परिवर्तनलाई आत्मसात गर्न सकिरहेका छैनन् । देउवाका सामु नेपाली कांग्रेस पार्टीले दिएको सम्मानजनक अभिभावकको आसनमा विराजमान हुने एउटा अवसरमात्र बाँकी छ अब । राजनीतिको कठोर सत्य हो, पार्टी राजनीतिमा पराजित भएका हुन् देउवा । यो सत्यलाई स्वीकार्न किन बिलम्ब ? विगतको योगदान र वयोवृद्धपनको पुरस्कार स्वरुप अभिभावकको सम्मान जो प्राप्त भएको छ्, त्यसैलाई स्वीकार्नु हितकारी हुन्छ । अझैपनि सत्ताको सपना देख्नु आशक्तिमात्र हुनसक्छ, जुन यथार्थ भन्दा टाढा देखिदैंछ । राजनीतिक पार्टीमा लागेकाहरुले विधि र विधान मान्दिन भन्ने छुट हुँदैन । आफ्नै जिम्मेवार आधा भन्दा बढी कार्यकर्ताको परिवर्तनको चाहनालाई नजरअन्दाज गर्दाको परिणाम हो, अहिलेको अवस्था, परिणाम भोग्नुको विकल्प हुँदैन ।
निर्वाचन आयोगले माघ ६ सम्ममा प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची दिनुपर्ने तालिकामा कुनै परिमार्जन गरेको छैन । विशेष अधिवेशनबाट चुनिएका सभापति गगन थापाले पार्टीमा कुनै गुट र परिवारवाद नहुने उद्घोष गर्दे उम्मेदवारहरु टुंग्याउने गृहकार्यमा छन् । पार्टीको संस्थापन भनिने पूर्वसभापति शेरबहादुर देउवा समुहका मध्यस्थकर्ताहरु आयोगको निर्णय विरुद्ध रामशाहपथमा हाजिर गर्न पुगेका छन् र सँगसँगै पार्टी अध्यक्ष गगन थापासँग सिटमा बार्गेनिङ्ग पनि गरिरहेका छन् ।
निर्वाचन आयोगले गगनलाई वैधानिकको लालमोहर लगाएपछि त्यसैको विरुद्ध आइबार दिउँसो सर्वोच्च अदालतमा रिट हाल्न पुगेकाहरु छ, साँझ नपर्दे रुखको माया गर्दे फेसबुकमा पोष्ट गर्दे थिए । केन्द्रीय सदस्य मीन विश्वकर्माले ‘जता रुख त्यतै’ भन्दै पोष्ट गरेको केहीबेरमै पूर्व कार्यवाहक अध्यक्ष पूर्णबहादुर खडकाले पार्टीका सबै आदर्णिय साथीहरु, सबैमा जयनेपाल भन्दै पोष्ट गरे । खडकाले सर्वोच्च अदालत जानु पर्नाको स्पष्टिकरण दिदैं लेखेका छन् ‘रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ । नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ता बजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम आदरणीय मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु ।’

 

रुख चिन्ह बाहेक अन्यथा सोच्न नसक्ने पूर्ण र रुख बाहेक अन्यन्त्र जान नसक्ने गगन थापाको मिलन बिन्दु एउटै होइन र ?

किन यस्तो दोहोरो खेल ? बिहान दश बजे रामशाहपथमा हाजिर गरेर अपराह्न गगनसँग सिटको याचना गर्न पुगेका देउवाका मध्यस्थकर्ताहरुलाई गगनले अदालतको मुद्धा फिर्ता लिन आग्रह गरेको बुझिदैछ । मंगलबार, आयोगमा उम्मेदवारको नाम दर्ता गर्ने दिन हो, सभवत मंगलबारनै अदालतमा हालेको रिट पेशीमा चढ्नसक्छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएको विरुद्ध र सो निर्णय अनुसारका कामकारवाही रोक्न दिएको रिट आइतबारनै पेशीमा चढाउने दबाव थियो, पूर्ण खडकाहरुको,जुन कामयाव भएन । त्यस्तै, निर्वाचन आयोगलाई उम्मेदवारहरुको नाम दर्ताको मिति सार्न दिएको निवेदन पनि सुनुवाई भएको छैन ।
परिस्थितिको दबावमा रहेका देउवा समुहसँग विकल्प सिमित छन् यतिखेर । मंगलबार रिट पेशीमा चढे पनि सोही दिन फैसला नहुन सक्छ, हेर्दाहेर्देमा अर्को दिनका लागि सर्न पनि सक्छ । राजनीति गर्नेहरुले राजनीतिक निर्णयलाई आत्मसात गर्नुपर्दछ, अदालती आदेश नियम कानूनको रोहमा आउँने हो । कांग्रेसको मुल अदालत महाधिवेशन हो, महाधिवेशन भनेको भूईतहका कार्यकर्ताको संसद हो । कांग्रेसको त्यो संसदले कांग्रेसको नीति बदलेको छ, नयाँ नेतृत्व चुनेको जगजाहेर छ । यसमा रोइलो गर्नुको अर्थ छैन । रुख चिन्ह बाहेक अन्यथा सोच्न नसक्ने पूर्ण र रुख बाहेक अन्यन्त्र जान नसक्ने गगनको मिलन बिन्दु एउटै होइन र ?
यता, देउवा समुहमै रहेका शेखर कोइराला गगनसँग नजिकिदैं गरेका छन् । खासमा तिनवटै पक्ष जो सतहमा छन्, उनीहरु सबैलाई उनीहरुको प्यारो चुनाव चिन्ह रुख, चारतारे पार्टी झण्डा चाहिएको छ । जुन स्वभाविक छ, जोसँग उनीहरुको राजनीति गाँसिएको छ । देखिदैंछ तिनवटैपक्ष दबावमा पनि छन् ।
गगन सबैलाई समेटनुपर्ने, सम्हाल्नुपर्ने जिम्मेवारीमा छन् । । सम्मानजनक बर्हिगमनको अपेक्षा राख्दै आएका देउवा आफ्नै वरिपरिकाहरुको दबावमा देखिन्छन् ।शेखर दुई विभाजित, विवादित पक्षबीच सेतु बन्न प्रयासरत छन् । पछिल्ला यि सबै अभ्यास प्रतिनिधिसभा निर्वाचनमा कसकसलाई टिकट दिने भन्नेमा केन्द्रीत देखिन्छ । विगत लामो समयदेखी भागवण्डाको स्थिति बसेको कांग्रेसमा त्यसलाई तोडेर अगाडि बढन सहज छैन, चुनौतीपूर्ण छ माहौल ।
फेरी गगनको टिमले जिल्लाबाट सिफारिस भएर आएकाहरु मध्येबाट उम्मेदवार तय हुने बताईरहेको छ । संगसंगै नयाँ पुस्ताको आवाज र आयतनलाई सम्बोधन गर्न गगन विश्वप्रकाश चुक्नु हुन्न, जुन समयको जर्बजस्त माग हो । सिफारिस भएर आएका नाममा कांग्रेसहरु पनि छन्, देउवा कांग्रेस पनि छन्, शेखर कांग्रेस पनि छन् र गगन कांग्रेस पनि छन् । यि थरिथरिका कांग्रेस मध्ये निर्वाचन क्षेत्र पिच्छे कुनै एउटाले टिकट पाउँने हो,जो प्रकारान्तले कांग्रेसनै हो ।

तस्बिर साभार: सामाजिक संजालबाट