संस्थापनमा दुई धार: चुनाव अघि अधिवेशन, चुनाव पछि अधिवेशन
सङ्लोन्यूज
काठमाडौं, २५ पुस ।
नेपाली कांग्रेसमा अन्यौलग्रस्त अवस्था देखिदैंछ । विशेष अधिवेशनपक्षले २७ गतेदेखी अधिवेशन बोलाएर त्यसको तयारी गरेका छन्, प्रचार प्रसार तीव्र बनाएका छन् । कांग्रेसले शुक्रबारका लागि राखेको पत्रकार सम्मेलन स्थगित भएको जनाएको छ भने कुनैबेला सभापति शेरबहादुर देउवाकै गुटमा रहेका २५ केन्द्रीय समिति सदस्यहरुले विशेष अधिवेशनलाई माग गर्ने प्रतिनिधिहरुको मतको सम्मान गर्न अपिल गरेका छन, देउवा गुटका बाँकी केन्द्रीय सदस्यहरुले बेग्लै भेलाको आयोजना गर्देछन् ।
विशेष अधिवेशन गरेरै छाड्ने महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाशको घोषित नीतिको नजिक रहेका ३० केन्द्रीय सदस्य चुनाव अगाडि महाधिवेशन हुनुपर्ने लाइनमा छन् । तर देउवा गुटकै अधिकांश केन्द्रीय सदस्य भने विशेषलाई मान्यता नदिने, सकेसम्म भाड्ने र असफल बनाउने रणनीतिमा छन् । उनीहरु भन्छन् चुनाव पछि महाधिवेशन ।
आम निर्वाचन अगाडि अधिवेशन हुनुपर्ने देउवाकै बिद्रोही २५ जना केन्द्रिय सदस्यले अपिल गरेका छन् । अपिल जारी गर्नेहरुमा राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायत छन् ।
विशेष अधिवेशन पक्षधर र कांग्रेस संस्थापनपक्षको अडान तोडन लागि परेका २५ केन्द्रिय सदस्यले यस अघि पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बेग्लाबेग्लै भेटेर कांग्रेस भित्रको विवाद सल्टयाउने प्रयास गर्दे आएका छन् ।
केन्द्रीय समिति सदस्यको अपिल यस्तो छ ।
यही आउँदो २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर राखी नेपाली कांग्रेसलाई उक्त निर्वाचनमा जनताको विश्वसनिय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी छ। परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेछ। यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ।अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरेका छन्।
आमचुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका केन्द्रीय सदस्यहरूले आज भेला गरेर अपिल जारी गरेका हुन्।
उनीहरूले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न पनि यसअघि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर ध्यानाकर्षण गराएका थिए।
