काठमाडौं, १० पुस ।
नेपाल राष्ट्रबैंकले आयोजना गरेको ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अहिलेको अधिक तरलताको अवस्थामा सुधार ल्याउँन उत्पादनशील र पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए ।
अर्थविद्,आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा आयोजित कार्यक्रम राष्ट्र बैंकका तर्फबाट कार्यपत्र पेस गरिएका थिए । कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको उल्लेख गर्दै पूर्वाधार संरचना विस्तारको निम्ति संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए । पूर्वाधार विकासमा वैदेशिक लगानी परिचालनका निम्ति नीतिगत र संरचनागत वातावरण सहज हुनुपर्ने विचार पौडेलको थियो ।
कार्यक्रममा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले
आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशालाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । समष्टिगत अर्थतन्त्रको पृष्ठभूमि, अर्थतन्त्र र वित्तीय क्षेत्रको स्थिति, विद्यमान चुनौती र त्यसलाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंकबाट भएका नीतिगत प्रयास र दीर्घकालीन सुधारको मार्गचित्रबारे खरेलले चर्चा गरे ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् पृथ्वीराज लिगलले कार्यपत्रमाथि टिप्पणी गर्दै कुल राष्ट्रिय बचत बढ्दै जाँदा लगानीको अनुपात चाहिँ कमजोर रहेको विचार व्यक्त गरे । बाह्य क्षेत्रको स्थिति सबल देखिए तापनि अर्थतन्त्रका अन्य परिसूचकहरू निकै कमजोर रहेको टिप्पणी लिगलले गरे । ‘अहिलेको अधिक तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी नबढाउँदासम्म
अर्थतन्त्र सुधार हुँन सक्तैन ।’
अर्थविद् डा. गोविन्द नेपालले विदेशी विनिमय सञ्चितिलाई उत्पादनमूलक र पूर्वाधार
विकासको क्षेत्रमा परिचालनका निम्ति सरकारले प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । अर्थशास्त्री डा. कल्पना खनालले ब्याजदर निरन्तर घट्दै जाँदा त्यसले पुँजी पलायनलाई प्रश्रय मिल्नसक्ने उल्लेख गर्दै उपलब्ध वित्तीय स्रोतलाई पूर्वाधार परियोजनामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन ।
राष्ट्रिय आयोगका पूर्व सदस्य एवम् सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेलले मुलुकको अर्थतन्त्र शिथिल रहेको उल्लेख गर्दै वैदेशिक लगानी परिचालन र उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका निम्ति वित्त नीति सबल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अर्थ मन्त्रालय, राष्ट्रि य योजना आयोग, राष्ट्रि य प्राकृतिक स्रोत तथा वित्त आयोगका उच्च अधिकारी, राष्ट्र बैंकका उच्च अधिकारी, उद्योगी÷व्यवसायी, बैंकर, सञ्चारकर्मी र आर्थिक तथा वित्तीय क्षेत्रसम्बद्ध अन्य निकायका प्रतिनिधिको सहभागिता थियो ।
सो अवसरमा बैंकका प्रवक्ता एवम् मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वित्तीय क्षेत्रलाई सुदृढ र गतिशील बनाउनका निम्ति राष्ट्र बैंकबाट भइरहेका
प्रयासबारे जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *