भक्तपुरमा सन्तनेताको १०२ औं जन्मजयन्ती सम्पन्न
काठमाडौं,८ पुस ।
नेपाली कांग्रेस भक्तपुरले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष सन्तनेताकोरुपमा परिचित कृष्णप्रसाद भट्टराईको १०२ औं जन्म जयन्ति मनाएको छ ।
मंगलबार, पार्टी कार्यालय सल्लाघारीमा एक कार्यक्रमको आयोजना गर्दे जिल्ला अध्यक्ष एवं भक्तपुर २ का निवर्तमान सांसद दुर्लभ थापाले किसुनजीको तस्बिरमा फूलमाला अर्पण गर्दे भट्टराईको व्यक्तिव्य र राजनीतिक योगदानको चर्चा गरे ।

कार्यक्रममा भक्तपुर कांग्रेसका नेता, कार्यकर्ताले भट्टराईको तस्बिरमा फूल तथा माला अर्पण गरेका थिए । त्याग, समर्पण र लोकतन्त्रका पर्याय भट्टराई सफल राजनीतिज्ञको रुपमा परिचित छन् । जनआन्दोलन २०४६ पछिको अन्तरिम सरकारका प्रमुख भट्टराईले संविधान बनाउने र समयमै निर्वाचन गराएर सत्ताहस्तान्तरण गरेका थिए ।
वाममोर्चा, दरबार, आफ्नो पार्टी नेपाली कांग्रेस र अन्य भिन्नभिन्न राजनीतिक पक्षबीच समन्वय गरेर संविधान निर्माण गर्नुको साथै संसदको निर्वाचन पनि निर्धारित समयमा सम्पन्न गर्नुको श्रेय भट्टराईलाई जान्छ । त्यस्तै २०५६ सालको निर्वाचनमा भट्टराईलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर निर्वाचनमा होमिएको कांग्रेसले निर्वाचनमा बहुमत प्राप्त गरेको थियो ।

अध्ययनशील, गिताध्यायी कृष्णप्रसाद भट्टराईलाई सन्तनेता, किसुनजीको नाममा लोकप्रिय छन् ।
