काठमाडौं,१७, मंसिर
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण खडकाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवशको अवसरमा शुभकामना सन्देश दिएके छ । बुधबार प्रेस विज्ञप्ती प्रकाशीत गर्दे खडकाले अपाङ्गता दिवशले वास्तविक समावेशी समाज निर्र्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा म सबै अपाङ्गता भएका नागरिक, उहाँहरूका परिवारजन, सरोकारवाला, सम्बन्धित संघ–संस्थाहरू तथा अधिकार–अभियानमा समर्पित सबै अभियान्ताहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु । यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले हामीलाई वास्तविक समावेशी समाज निर्माण तर्फ उन्मुख हुन र सामाजिक प्रगतिलाई थप सबल बनाउन उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशिता लगायतका सवालहरूलाई नेपाली कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको छ । संविधान निर्माणको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिका अधिकारलाई संस्थागत गर्न नेपाली कांग्रेसले निर्वाह गरेको अग्रणी भूमिकालाई म यहाँ स्मरण गर्न चाहन्छु । पार्टीको विधान तथा नीतिले स्थानीय तहदेखि संघीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरेको छ । आगामी दिनमा यस सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने हाम्रो प्रतिबद्धता दृढ छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र सामाजिक जीवनका सबै क्षेत्रमा अपाङ्गता भएका नागरिकको सहज पहुँच, क्षमता र आवश्यकता अनुसारका अवसर, पहुँचयुक्त भौतिक संरचना तथा दिगो सहायक सेवा सुविधाहरू आजका प्रमुख आवश्यकता हुन् । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मानका साथ समान अवसर र सुरक्षित वातावरणमा बाँच्न पाउनु सरकार तथा राजनीतिक दलको साझा दायित्व हो । हामीले आवश्यक अवसर र वातावरण निर्माण गर्न सके, अपाङ्गता भएका नागरिकहरूले राष्ट्रका सबै क्षेत्रमा उत्कृष्ट र प्रेरणादायी योगदान दिन सक्नेछन् । नेपाली कांग्रेस समावेशिता, समान अवसर, मानव–अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिरहनेछ ।

अन्त्यमा, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सबै अपाङ्गता भएका नागरिक, उहाँहरूका परिवारजन, सरोकारवाला, सम्बन्धित संघ–संस्थाहरू तथा अधिकार–अभियानमा समर्पित सबै अभियान्ताहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *