एमालेका डेढ लाख कार्यकर्ता जिम्मेवारी विहीन

काठमाडौं २३ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)दोस्रो विधान महाधिवेशनमा महासचिव शङ्कर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदनमा एकातिर पार्टी सदस्यहरुको संख्या अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढेको तथ्य छ भने अर्कोतर्फ करिव २३ प्रतिशत कार्यकर्तालाई जिम्मेवारी दिइएको छैन ।
प्रतिवेदनमा हालसम्म नवीकरण भएका पार्टी सदस्यहरुको संख्या ६ लाख ६२ हजार ९६१ रहेको उल्लेख छ । जुन अघिल्लो संख्या भन्दा ३० प्रतिशतले बढेको पोखरेलको प्रतिवेदनमा औल्याएका छन् । पार्टीको घोषित नीतिमा पार्टी सदस्य कुनै न कुनै कमिटीमा रहेर काम गर्नुपर्ने हुन्छ ।
करिव ६ लाख ६३ हजार पार्टी सदस्यता रहेको एमालेमा सबैले जिम्मेवारी पाएका छन् त?महासचिवको प्रतिवेदनमा एक लाख ५० हजार बढीलाई सांगठनिक जिम्मेवारी दिन सकिएको छैन भन्ने औल्याइएको छ । यस आधारमा करिव २३ प्रतिशत कार्यकर्ताले काम पाएका छैनन् । प्रतिवेदनले प्रत्येक ४ जना कार्यकर्ता मध्ये एकजनाले जिम्मेवारी पाउँन नसकेको देखिन्छ ।
प्रतिवेदनका अनुसार कूल चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् भने एक लाख ५०हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासविच पोखरेलले प्रतिवेदनमा औल्याएका छन् ।
प्रतिवेदनमा ६४ हजार ७०६ कमिटी रहेको उल्लेख छ । जसमा जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च गरेर १०३ कमिटी छन् । त्यसैगरी महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी एक हजार ६७ कमिटी छन् । वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ छन् ।
प्रदेशअन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र एक सय ३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी सात हजार १०१ छन् । कोशी प्रदेशमा कूल आठ हजार ४०८ कमिटी रहेका छन् ।
त्यसैगरी मधेस प्रदेशमा आठ जिल्ला कमिटी १३६ पालिका १२ सय ७१वडा, छ हजार ५१५ टोल कमिटी गरी कूल सात हजार ९३० रहेका छन् ।
बागमती प्रदेशतर्फ १३ जिल्ला, १११ पालिका, ११ सय २१ वडा, १४ हजार २०६ टोलसहित कूल १५ हजार ४५१ कमिटी रहेका छन् ।
गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, पाँच हजार ५६० टोल गरी कूल छ हजार ४१५ कमिटी रहेका छन् ।
लुम्बिनी प्रदेशमा १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, नौ हजार २६७ टोल गरी कूल १० हजार ३७१ कमिटी रहेका छन् ।
कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, छ हजार ३५३ टोलसहित कूल सात हजार २६० कमिटी छन् ।
सुदूपश्चिम प्रदेशमा नौ जिल्ला, ८८ पालिका, ७३४ वडा, पाँच हजार ८५० टोलसहित कूल छ हजार ६८१ कमिटी छन् ।
त्यसैगरी समन्वय सम्पर्कअन्तर्गत सात जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी कूल ८२४ सम्पर्क समन्वय कमिटी छन् ।
प्रवासी नेपाली मञ्चलाई पाँच जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कूल १११ कमिटी रहेका छन् । प्रवासी नेपाली सङ्घ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी कूल ५६७ कमिटी रहेका छन् ।
प्रतिवेदनमा प्रस्तुत तथ्याङ्क अनुसार जिल्ला तहमा नौ हजार ७७४ नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३ । वडामा एक लाख ७४ हजार २४५ र टोलमा दुई लाख एक हजार ३६४ नेता तथा कार्यकर्ता छन् ।
जनसङ्गठनको सङ्ख्या अध्यावधिक नभएको औँल्याउँदै करिब १२ लाख ६९ हजार १६१ सदस्य रहेको महासचिवले प्रतिवेदनमा उल्लेख गरिएको छ ।