काठमाडौं, २१ भदौं ।
नेपाल भौगर्भिक समाज NGS को ४७ औं साधारणसभा तथा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्यक्रममा समाजका पूर्व अध्यक्ष प्रा.डा. विशालनाथ उप्रेतीले खबरदारी गरे ‘ट्रेड युनियन युनियन जस्तो हुन् भएन हैं, एनजिएस प्राज्ञिक संस्था हो ।आफ्ना पेशागत अधिकारका कुरा गर्न मिल्दछ,तर कसैको झण्डा उचालेर हिड्न मिल्दैन ।’
एनजिएसलाई अहिलेको स्वरुपमा ल्याउन महत्वपूर्ण योगदान पु¥याएका र नेपालको भूगर्भका पत्र केलाएर केस फुलाएका यी प्राज्ञले खबरदारी गर्नुको के कारण हुनसक्छ ? के एनजिएस राजनीतिक रंगमा लतपतिन थालेको हो ?वा एनजिएसमा चुनिएका युवाहरुलाई उप्रेतीको सद्भाव सहीतको मार्गनिर्देशनमात्र हो ? प्रश्नहरु अनुत्तरित छन् ।
शुक्रबार (भदौं १४)एक विशेष समारोहकाबीच एनजिएसका अध्यक्ष चुर्णबहादुर ओलीले नव निर्वाचित अध्यक्ष भास्कर खतिवडालाई पद हस्तान्तरण गरे । साउन २८ मा सम्पन्न संस्थाको निर्वाचनमा खतिवडाले प्राडा खुमनारायण पौडेलाई पराजित गर्दे अध्यक्षको पदमा विजयी भएका थिए ।
सभामा पहिलो, दोश्रो तथा नयाँ पुस्ताका एनजिएसका सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।खतिवडा नेतृत्वको एनजिएस २२ औं कार्यकारीले शुक्रबारदेखी औपचारिकरुपमा जिम्मेवारी लिएको छ । संस्थाको निर्वाचन २०८२ साउन २८ मा सम्पन्न भएको हो । अध्यक्ष र उपमहासचिव बाहेकका पदहरु सर्वसम्मत चुनिएका थिए ।२२ औं कार्यसमितिको अध्यक्षमा खतिवडा,उपाध्यक्षमा डा.बसन्तराज अधिकारी,महासचिवमा शिव वास्कोटा, उपमहासचिवमा गोविन्द ओझा, कोषाध्यक्षमा शर्मिला पौडेल तथा सदस्यहरुमा विनोद केसी, रोशन न्यौपाने, धिरेन्द्र पाण्डे चुनिएका हुन् ।संस्थामा ४ जना कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ ।
संस्थाको घर, काउन्सिल र जर्नलबारे चासो
विज्ञानसँग सम्बन्धित संस्थाहरुबीच प्राज्ञिक हिसावले सक्रिय र गहकिलो संस्थाको रुपमा परिचय कमाएको एनजिएस सामु केही पुरानै मुद्धा चुनौती बनेर सामुन्ने छन् । ति हुन् संस्थामा लागि घरजग्गा, गैससबाट काउन्सिलमा उक्लिने हैसियत तथा जर्नलाई अपग्रेड गर्ने, समय र प्रविधिको रफ्तारबीच जर्नललाई अगाडी बढाउने ।


४५ वर्ष अगाडी गैससको रुपमा स्थापना भएको संस्था खानी विभागको एउटा कोठामा खुम्चिएर बसेको छ । प्राविधिक जनशक्तिको रुपमा लिइने भूभर्गशास्त्रीहरु इन्जिनियर, डाक्टर जस्तै एउटा छुट्यै काउन्सिसलमा आवद्ध हुनुपर्ने आवाज लामो समय देखी उठ्दै आएको भएपनि ठोस उपलब्धी प्राप्त हुन नसकेको सदस्यहरु बताउँछन् । काउन्सिलको हैसियतमा उकाल्नुपर्ने यसका प्रकाशन जर्नलको स्तरियता कायम गर्ने तथा संस्थाको घरघडेरीका मुद्धा पछिल्लो साधारणसभामा पनि उठे ।
पूर्व अध्यक्ष दण्डपाणी अधिकारीले एक दशक अघि संस्थाका लागि उपत्यका धेरै ठाउँमा घडेरी खोजेको चर्चा गर्दे अन्त्यमा खानी विभागको परिसरमा घडेरी प्राप्तीको पहल भएको फेहरिस्त सुनाए ।‘त्यसबेलाका प्रधानमन्त्री शुशिल कोइरालालाई संस्थाका लागि खानी विभाग परिसरमा जग्गा उपलब्ध गराउन प्रयास भएको थियो ।उहाँ सहमत पनि हुनु भएको थियो’अधिकारीले भने ‘संविधान जारी भएपछि उहाँले छोटो समयमै पद छोडनुप¥र्यो,हामीलाई वचन दिए अनुसार मन्त्रीपरिषदमा प्रस्ताव राख्ने कुरा थियो, मन्त्रीपरिषदको बैंठक नै बसेन ।’उद्योग मन्त्रालयको सिफारिस सहीत मन्त्रीपरिषदसम्म पुगेको प्रस्ताव त्यत्तिकैमा टुंगिएको पृष्ठभूमि औंल्याउँदै अधिकारीले नयाँ कार्य समितिको ध्यानाकृष्ठ गराए ।

अध्यक्ष लगायत अधीकांस सदस्य फ्रिल्यान्सर हुनुले उनीहरुले कति समय दिनसक्ने हुन् ? त्यो नै महत्वपूर्ण बनेको छ यतिखेर । वैज्ञानिक प्राज्ञिक संस्थाको गहनता नयाँ पुस्ताको उर्जाबाट पुल्लवित पुष्पित हुनसक्छ कि सक्तैन ? जिज्ञासाहरु छन् ।

अधिकारी पछिका कार्यसमितिहरुले जग्गा प्राप्ती र आवास बनाउने विषयलाई खास महत्व नदिएको पूर्व अध्यक्षको कथन छ ।२१औं कार्यसमितीले रिङ्गरोड भित्र घर किन्ने सूचना निकाल्यो, त्यो पनि औपचारिकतामात्र हुनपुग्यो।काउन्सिलको अवधारणामा लग्ने कुरा पनि लामो समयदेखी चर्चामामात्र सीमित बनेको छ । पहिला देखी चर्चा हुँदै आएपनि १५ औं कार्यसमितिका अध्यक्ष उत्तमबोल श्रेष्ठले काउन्सिलको विषयलाई अगाडी बढाउने प्रयास गरेका थिए । त्यस्तै १८ औं कार्यसमितिका अध्यक्ष कविराज पौडेलले त्यो अधुरो कामलाई एकहदसम्म अगाडी बढाएका हुन् ।उनको कार्यकाल पछि काउन्सिलको विषयले पाउनुपर्ने जति प्राथमिकता पाउन नसकेको चर्चा एनजिएस भित्र हुने गर्दछ ।


त्यस्तै, संस्थाले स्थापना कालदेखी प्रकाशन गर्दे आएको जर्नलको स्तरीयता र समयानुकुल विश्व समुदायमा पु¥याउने काममा अलमल भैरेहेको चर्र्चामात्र होइन चिन्ता व्यक्त हुन थालेको छ । संस्थाका पूर्व अध्यक्ष प्रा.डा विशालनाथ उप्रतीले भने ‘जर्नल हाम्रो अनुहार हो, त्यसैले हाम्रो परिचय विश्व समुदायमा दिन्छ, यसको स्तरीयता कामय राख्नुपर्दछ ।’उप्रेतीले अहिलेको समय अनुसार जर्नललाई अनलाइन संस्करणमा लैजान उपयुक्त हुने सुझाव दिए । विश्वस्तरका भूगर्भविदबीच परिचित जर्नलले अहिलेसम्म विश्वस्तरीय इन्डेक्समा सूचिकृत हुने, स्टार प्राप्त गर्ने हैसियत पाउँन सकेको छैन । एनजिएसका जिम्मेवार सदस्यहरुबीच बारम्बार चर्चा, छलफल हुने गरेको भएपनि त्यो बुद्धिविलासमात्र भएको देखिन्छ । जर्नल नेपजोलमा भने केही वर्षदेखी आवद्ध छ ।जर्नलाई विश्वस्तरका एससिआई जस्ता संस्थामा आवद्ध गराउनुपर्ने चासो र चिन्ता दुबै देखिन्छ खास गरेर पहिलो र दोश्रो पुस्ताका एनजिएस सदस्यहरुबीच ।
साधारणसभामा सम्बोधन गर्दे नव निर्वाचित अध्यक्ष खतिवडाले आफूले चुनाव घोषणापत्रमा उठाएका विषयहरुमा केन्द्रीत भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।एनजिएसले ४७ औं वार्षिक साधारणसभा तथा २२ औं द्धिवार्षिकी सभा आयोजना गरेको हो ।सभामा संस्थाका निवर्तमान महासचिव अजयराज अधिकारीे एवं कोषाध्यक्ष कविता कार्कीले पेश गरेका महासचिवको तथा आर्थिक प्रस्ताव (एडिट रिपोर्ट) पनि अनुमोदन गरेको छ ।समारोहमा एनजिएसले वितरण गर्ने विभिन्न ९ वटा छात्रवृतीहरुबाट लाभाविन्त २४ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

भूगर्भको दुनियामा विश्वस्तरमा परिचय कमाएको ।भूगर्भका विख्यात अध्येताहरु यसको सदस्य रहेको एनजिएसको वैज्ञानिक प्राज्ञिक छवि अझ उजेल्याँउनुपर्ने आवश्यकतासँगै चुनौती सामुन्ने छन् ।

२२ औं कार्यसमितिसम्म आइपुग्दा एनजिएसमा नयाँ पुस्ताको बोलबाला देखिन्छ । त्यहीँ भएर हुनुक्छ उप्रेती खबरदारी गर्दे थिए ‘ट्रेड युनियन जस्तो हुन् भएन हैं, एनजिएस प्राज्ञिक संस्था हो । आफ्ना पेशागत अधिकारका कुरा गर्न मिल्दछ,तर कसैको झण्डा उचालेर हिड्न मिल्दैन ।’
नयाँ कार्यसमितिमा नयाँ जोस जागर देखिन्छ । काम गर्ने हुटहुटी र केही फरक गर्ने उत्साह पनि हुनसक्छ । कार्यसमितिका अध्यक्ष लगायत अधीकांस सदस्य फ्रिल्यान्सर हुनुले उनीहरुले कति समय दिनसक्ने हुन् ? त्यो नै चर्चाको विषय बनेको छ यतिखेर । भूगर्भको दुनियामा विश्वस्तरमा परिचय कमाएको ।भूगर्भका विख्यात अध्येताहरु यसको सदस्य रहेको एनजिएसको वैज्ञानिक प्राज्ञिक छवि अझ उजेल्याँउनुपर्ने आवश्यकतासँगै चुनौती सामुन्ने छन् । वैज्ञानिक प्राज्ञिक संस्थाको गहनता नयाँ पुस्ताको उर्जाबाट पल्लवित पुष्पित हुनसक्यो भने त्यो सुनमा सुगन्ध झै हुने थियो ।

-तस्बीर : निर्मला मैनाली, एनजिएस


Leave a Reply

Your email address will not be published. Required fields are marked *