भक्तपुर, ८ भदौः चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व  सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो । सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध, चैत्यको परिक्रममा गरी एक महिनासम्म यो पर्व मनाइएको हो । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । यो पर्व विभिन्न स्थानीय बौद्ध चैत्यहरूको परिक्रमा गरी सम्पन्न भएको हो । ‘गुँ’ को अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने र ‘ला’ को अर्थ महिना भएको बौद्ध गुरु श्रीभद्र बज्राचार्यले जानकारी दिनुभयो ।
बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्वीका नेवार समुदायले पछिल्लो समय यो पर्व मनाउन थालेका स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताउनुभयो। यो पर्वमा प्रत्येक दिन गुँला बाजा एवं नौ बाजा बजाएर विभिन्न मठमन्दिर, बौद्ध बिहार, चैत्यहरू परिक्रममा गरिने,एक महिनासम्म ब्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने चलन छ ।
दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर स्लोक मन्त्रोचारण गरेर मठमन्दिर, चैत्य, बिहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्वमा भक्तपुर, मध्यपुरथिमि, काठमाडौँ, ललितपुर र कीर्तिपुर परिक्रमा गर्ने परम्परा छ । यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो। यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने गरिन्छ ।
भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरी मनाइन्छ भने काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार÷महाविहारमा पूजा गर्न गर्ने गर्दछन्।
कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक अभाव र जनशक्ति अभावले कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाउने गरिएको छ । गुरु बज्राचार्य यो पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने बताउनुहुन्छ । त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने उल्लेख गर्दै उहाँले यस अवधिमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम नगर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क नगर्ने बताउनुभयो । सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने, सके दशशीलनै पालना गर्ने मान्यता छ।
भक्तपुरमा गुँला पर्वको अवसरमा चाँगुनारायण, साँखु बज्रयोगिनी, काभ्रेपलाञ्चोकको नमो बुद्ध, ललितपुरको बाडेगाउँ, जलविनायक र कार्यविनायक तथा अन्तिम यहाँका बिभिन्न चैत्य र स्वम्भु महाचैत्यको परिक्रमा गरिएको थियो । स्थानीय महिलाले नेवारी पोसाक लगाएर परिक्रमा गरेका थिए । बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको परिक्रमा गर्ने गरिन्छ ।आज बिहानैदेखि मध्यपुरथिपम, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुलाँ पर्व समापन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *