काठमाडौँ, ८ भदौः आजदेखि तीन नेपाली चलचित्र ‘माग्ने राजा’,‘ताराहरू’ र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ प्रदर्शन भएका छन् । आउँदो तीजलाई लक्षित गर्दै एकसाथ तीन नेपाली चलचित्र प्रदर्शन भएका हुन् । भिन्न विधाका रहेकाले तीनै चलचित्रले दर्शकको माया पाउने विश्वास चलचित्रकर्मीको छ ।
असार र साउनमा नेपाली चलचित्रको प्रदर्शनको सङ्ख्या कम भए पनि तीजदेखि तिहारलाई लक्षित गर्दै प्रत्येक साता नयाँ नेपाली चलचित्र प्रदर्शन हुनेछन् । एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको चलचित्र ‘माग्ने राजा’ मा ‘माग्ने बुढा’ को उपनामले चिनिनुभएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा हुनहुन्छ । आफूलाई नै हेरेर लेखकले पात्र र चलचित्रको कथा तयार गरेको लागेपछि चलचित्रमा काम गरेको कलाकार घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हास्यव्यङग्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ । चलचित्रमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिए पनि यसले एउटा महत्वपूर्ण शिक्षा पनि दिन्छ ।”
उक्त चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायतका कलाकारले अभिनय गर्नुभएको छ । मुनाल घिमिरेले निर्माण गर्नुभएको उक्त चलचित्रमा ऋषि लामिछाने निर्देशक, सामीप्यराज तिमल्सेना लेखक, मित्र गुरुङले सम्पादन, नरेन्द्र मैनालीले  छायाङ्कन र सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गर्नुभएको छ ।
आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्र ‘ताराहरू’ किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र हो । डेढ दशकभन्दा बढी समयदेखि रङ्गकर्मीका रूपमा चिनिनुभएका आशान्त शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रमा मृत्यु कल्पेर हिँडेको युवकले एक अधबैँंसे महिला भेटेपछि उहाँको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ । रङ्गमञ्चमा मात्र देखाइ रहँदा कथाले न्याय नपाएको महसुस गरेपछि कलाकार शर्माले चलचित्रमा रुपान्तरण गर्नुभएको जानकारी दिनुभयो ।
“नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रङ्गकर्मीले सुझाव दिनुभयो । केहीले ‘युट्युब’मा राख्नसमेत सुझाउनु भयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन । नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन, युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो”, शर्माले भन्नुभयो, “त्यसै कारण  ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचका कारण नै मैले यसलाई चलचित्रको माध्यममा ल्याएँको हुँ ।”
रङ्गमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उहाँको भनाइ छ । उक्त चलचित्रमा कलाकार शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
आजदेखि नै प्रदर्शन भएको तेस्रो चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागा’ अभिनेता विजय बरालका कारण चर्चामा छ । उहाँले यसअगाडि मुख्य भूमिका निर्वाह गर्नुभएको ‘पूर्णबहादुरको सारङ्गी’ले पाएको सफलताका कारण यसपटक यो चलचित्र दर्शकसँगै चलचित्रकर्मीका लागि प्रतिक्षित छ । चलचित्रको कथा अभिनेता बरालमै केन्द्रीत छ । अभिनेता बरालले आफ्नो बुवाको सपना पूरा गर्ने उद्देश्य बोकेको पात्रलाई पर्दामा बाँचेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो आफ्ना छुटेका सम्बन्ध जोड्न चाहेको छ । तर, त्यो पात्र जनै धागो झैँ घुमेर फस्छ । यो सङ्घर्षको कथा हो । यसको कथाले नै मलाई आकर्षित ग¥यो । पछि पटकथा बनेर आएपछि म झनै आकर्षित भएँ । यो एउटा राम्रो पारिवारिक चलचित्र बनेको छ । यो सामान्य तथा सरल कथामा बनेको चलचित्र हो ।”
हिमाल न्यौपानेको निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेख्नुभएको हो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *